काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै ‘नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरेको छ। विदेशमा रहेका नेपालीलाई समर्पित र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त विभागको बिहीबार औपचारिक शुभारम्भ गरिएको हो।बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभागको उद्घाटन गरे।

नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि तथा सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका ग्राहकलाई एकद्वार प्रणालीमार्फत बैंकिङ सेवा उपलब्ध गराउने जनाएको छ।
बैंकका अनुसार यस विभागबाट विदेशमा रहेका नेपालीले बैंक खाता खोल्ने, कर्जा लिने, ट्रान्जेक्सन बैंकिङ सेवा प्राप्त गर्ने, पुँजीबजारमा लगानी गर्ने तथा पोर्टफोलियो व्यवस्थापन जस्ता सेवा लिन सक्नेछन्।
विदेशमा रहेका ग्राहकलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित विभागीय कार्यालयमार्फत विभिन्न सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ।
त्यस्तै विभिन्न देशमा रहेका नेपालीको सेवामा सहजीकरण गर्न बैंकले सहायता कक्ष स्थापना गरेर बैंकिङ सेवा सञ्चालन गर्ने जनाएको छ। भविष्यमा यस सहायता कक्षमार्फत ग्राहकलाई २४सै घण्टा सेवा उपलब्ध गराउने योजना पनि बैंकले बनाएको छ।
सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोरालाई प्राथमिकतामा राख्दै विभिन्न बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले विगत दुई दशकमा विश्वव्यापी रूपमा आफ्नो रेमिट्यान्स सञ्जाल विस्तार गर्नुका साथै अन्तर्राष्ट्रिय बैंकहरूसँग सहकार्यलाई सुदृढ बनाएको छ।
बैंकले संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना गरेको छ। साथै आप्रवासी केन्द्रित बैंकिङ सेवाको विकास गर्दै विभिन्न १० भन्दा बढी देशमा रहेका बैंकका कर्मचारीमार्फत नेपालीलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकका अनुसार विदेशमा रहेका नेपालीले भौगोलिक दूरी वा भौतिक उपस्थितिको अवरोध बिना नेपालमा सहज र झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने उद्देश्यले यो विभाग स्थापना गरिएको हो।
विभागको उद्घाटन गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी तथा अन्य कारणले विदेशमा बसोबास गर्ने नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार भएको बताए।उनले नयाँ विभागमार्फत विदेशमा रहेका नेपालीलाई मातृभूमिसँग जोडिन र नेपालमा लगानी गर्न थप सहज हुने बताए।
“यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकलाई उनीहरूको आवश्यकता अनुसार पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ। यस विभागले विभिन्न सेवामार्फत उनीहरूको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग गर्नेछ,” उनले भने।
यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग वित्तीय रूपमा जोडिन अझ सहज बनाउने बताए।
“यस विभागमार्फत रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीले विदेशमै बस्दा नेपालमा लगानी गर्ने अवसर पाउनेछन्। यसले उनीहरूको आवश्यकता र चाहना पूरा गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने।
रेग्मीका अनुसार यस पहलसँगै ग्लोबल आइएमई बैंक विदेशमा रहेका नेपाली नागरिकसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको छ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।
बैंकले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दो बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।
नयाँ विभागको कार्यालय काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयमा रहनेछ। विदेशमा बसोबास गर्ने नेपालीले नन्–रेसिडेन्ट एण्ड ओभरसिज बैंकिङ विभागमा प्रत्यक्ष फोन, इमेल, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन्।ग्राहकले बैंकको प्रत्यक्ष टेलिफोन नम्बर ९७७–०१४५४४५१५ तथा ९७७–०१४५३८१०५/०७, इमेल ठेगाना [email protected] र ह्वाट्सएप वा भाइबर नम्बर ९७७–९८५११९९६४० मार्फत सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भइसकेको छ। साथै बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न विधामा सम्मानित हुँदै आएको छ।ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा रहेका छन्।यी सहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा उपलब्ध गराउनुका साथै विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ। हाल बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशबाट रेमिट्यान्स भित्र्याउने सेवा सञ्चालन गरिरहेको छ।








