काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वसभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएका छन् ।
सभापति थापाले सामाजिक सञ्जालमार्फत बालेनसहित नवनियुक्त मन्त्रीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन् । ‘देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना,’ थापाले भनेका छन् ।
यस्तै, हाल विदेशमा रहेका कांग्रेसका पूर्वसभापति देउवाले पनि बालेन प्रधानमन्त्री बनेकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। साथै, आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन् । विदेशमा रहेकाले पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा शपथ ग्रहण समारोहमा उपस्थित भएनन् ।
यस्तै, एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन र मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामना दिएका छन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,’ ओलीले भनेका छन् । पूर्वप्रधानमन्त्री ओली शपथ ग्रहण समारोहमा उपस्थित भएनन् । बालेन ओलीलाई नै झापा ५ बाट हराएर प्रधानमन्त्री बनेका हुन् ।








