काठमाडौँ । मुलुकबाट एक वर्षमा साढे चार अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर रहेको अवस्थामा चिया निर्यात भने बढेको छ ।
अन्तराष्ट्रिय बजारमा नेपाली उच्च गुणस्तरको चियाको माग बढ्दै गएकाले पनि निर्यातमा बृद्धि भएको हो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा चार अर्ब ५९ करोड रूपैयाँको एक करोड ५५ लाख ९८ हजार किलो चिया निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा तीन अर्ब ६२ करोड ५० लाख रूपैयाँको चिया निर्यात भएको थियो। चिया खेतीको विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले निर्यात बढेको चिया तथा कफी विकास बोर्डले जनाएको छ।
नेपालका पहाडी क्षेत्रमा उत्पादन भएको चिया गुणस्तरीय भएकाले विश्व बजारमा माग रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार सिटिसी चिया भारत र अर्थोडक्स चिया तेस्रो मुलुक निर्यात हुन्छ।
आव २०७२÷७३ मा दुई अर्ब ४० करोड रूपैयाँको निर्यात भएको थियो। यसरी हेर्दा करिब एक दशकमा चिया निर्यात करिब दोब्बरले बढेको छ। नेपालको चिया विश्व बजारमा लोकप्रिय छ। यहाँबाट भारतसहित अमेरिका, अस्ट्रेलिया, चीन, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, नर्वे, फिलिपिन्स, कतार, साउदी अरेबिया, सिंगापुर, स्विजरल्यान्ड, थाइल्यान्ड, बेलायतलगायत मुलुकमा निर्यात भएको छ।
नेपालको चिया अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहेकाले किसान चिया खेतीमा आकर्षित भएका हुन्। अहिले यहाँ उत्पादन भएको सिटिसी र अर्थोडक्स चिया विदेशी बजारमा निर्यात हुन्छ।
चियाबाट राम्रो आम्दानी हुने भएपछि किसान चिया खेतीमा आकर्षित भएका छन्। नेपालमा वार्षिक एक करोड ६४ लाख किलो चिया उत्पादन हुन्छ भने २० हजार हेक्टर क्षेत्रफलमा चिया रोपण भएको छ।
चिया बगान, उद्योगमा करिब ६० हजारले रोजगारी पाएका छन्। चिया खेतीमा लगानी बढाए उत्पादन बढाउन सकिने बोर्डले जनाएको छ। अक्सन सेन्टर स्थापना, प्रयोगशाला निर्माण गर्नुपर्ने आवश्यकता छ।







