काठमाडौँ । मुलुकबाट छुर्पी निर्यात हालसम्मकै उच्च भएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा चार अर्ब ५१ करोड रुपैयाँ बराबरको २६ लाख एक हजार किलो छुर्पी निर्यात भएको छ ।

यो निर्यातले आव २०७९÷८० को १७ लाख ८६ हजार किलोको रेकर्ड तोडेको हो । आव २०८०÷८१ मा तीन अर्ब १८ करोड रुपैयाँ बराबरको १६ लाख ४७ हजार किलो छुर्पी निर्यात भएको थियो ।

विभागका अनुसार आव २०७७÷७८ मा एक अर्ब ९६ करोड, आव २०७८÷७९ मा दुई अर्ब ९१ करोड, आव २०७९÷८० मा तीन अर्ब ४० करोड रुपैयाँ बराबरको छुर्पी निर्यात भएको थियो । विभागका अनुसार आव २०८१÷८२ मा २५ देशमा नेपालको छुर्पी पुगेको छ ।अमेरिका, क्यानडा जापान र कोरियामा सबैभन्दा धेरै छुर्पी जाने गरेको छ ।

सरकारले छुर्पी निर्यातमा दिइएको भन्सार छुट र खोरेत रोगको जोनिङ र कम्पार्टमेन्टलाइजेसनको कार्यान्वयन भएपछि युरोपेली देशमा निर्यातको वातावरण बनेको व्यवसायीको भनाई छ।

नेपालको छुर्पी कुकुर र बिरालोको खानाका रूपमा ‘डग च्यु’ निर्यात हुने गरेको छ । ‘डग च्यु’ एक प्रकारको छुर्पी नै रहेको छ । मानिसले खाने छुर्पीभन्दा ‘डग च्यु’ मा चिल्लोको मात्रा शून्य हुने गर्दछ ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले मानिसले खाने छुर्पीमा चिल्लोको मात्रा पनि हुन्छ । निकासी हुने छुर्पी बनाउँदा दुधलाई फटाएर विभिन्न प्रक्रिया पूरा गर्दै बनाइने जानकारी दिनुुभयो । अन्तराष्ट्रिय बजारमा माग बढ्दा निर्यात समेत बढ्दै गएको उहाँको भनाई छ ।