काठमाडौं । ज्योति विकास बैंकले सप्ताहव्यापी ग्लोबल मनी विकअन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

ग्लोबल मनी विक २०२६ को मुख्य नारा स्मार्ट मनी टक्स भन्ने विषयवस्तुमा केन्द्रित भई युवा तथा लक्षित वर्गलाई विभिन्न वित्तीय जानकारी प्रदान गर्ने उद्देश्यले एक सातासम्म बैंकको विभिन्न शाखाहरुमार्फत वित्तीय साक्षरता र सचेतनाका कार्यक्रम आयोजना गरेको हो।

बैंकले डिजिटल माध्यम र सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्य सञ्चालन गरेको जनाएको छ। यस अभियानमार्फत करिब २२ सयजना भन्दा बढी व्यक्ति प्रत्यक्षरुपमा लाभान्वित भएका छन्।

कार्यक्रमअन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरुअन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरुमा आधुनिक बैंकिङ, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरु, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरु, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगदरहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगीसम्बन्धी ज्ञानलगायतका विषयलाई समावेश गरी ३० वटाभन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेको छ ।

साथै, बैंकले ग्लोबल मनी विक अवधिभर बैंकका सामाजिक सञ्‍जालहरुमा विभिन्न श्रव्य दृश्य सामग्रीहरु प्रकाशित गर्ने तथा प्रभातफेरी कार्यक्रम आयोजना गरी वित्तीय सूचनाहरु पनि प्रवाह गरेको छ । वित्तीय साक्षरताको महत्वबारे जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूको साथै लक्षित वर्गलाई केन्द्रीत वित्तीय साक्षरता प्रवर्द्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न र सुशुचित वित्तीय निर्णय लिन आवश्यक ज्ञान, सीप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैंकको विश्वास छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।