काठमाडौं । ज्योति विकास बैंक १८औं वर्षमा प्रवेश गरेको छ । बैंकले शुक्रबार स्थापनाको १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ। सहज पहुँच भएको बृहत् वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र साश्वत समृद्धि ल्याउने मूल उद्धेश्यका २०६५ साउन ९ गते ज्योति विकास बैंक स्थापना भएको थियो ।

शुक्रबार प्रधान कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए । समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, पूर्वअध्यक्ष, पूर्वसञ्चालकहरु र कर्मचारीहरूको उपस्थिति थियो।

अध्यक्ष खड्काले बैंकको १७ वर्षको सफल यात्रामा साथ दिने ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे । आगामी दिनमा पनि यस्तै साथ र समर्थनको अपेक्षा गर्दै उनले बैंक सामाजिक समृद्धि र कर्मचारी विकासमा निरन्तर क्रियाशील रहेको उल्लेख गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्वअध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहक वर्गहरुलाई आभार व्यक्त गरे । उनले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

बैंकले वार्षिकोत्सवको दिन एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरुलाई बैंकिङ जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्ने जनाइएको छ। यसले बैंकको डिजिटल ग्राहक सेवा थप सशक्त बनाउने विश्वास लिइएको छ।

बैंकले इन्टर बैंक टेलर क्युआर सेवा सुरू गरेको छ। यस सेवामार्फत खाता नभएका व्यक्तिहरुले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ एप वा खल्ती वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन् ।

वार्षिकोत्सवको अवसरमा, बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत विविध गौरवपूर्ण सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा तथा सम्झौता गरेको छ। तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन हुनेछ।

राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा न्यानो नानी बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ। ई–नेबल नेपालसँग मिलेर १७ जना शारीरिक तवरले फरक बालबालिकालाई थ्रीडी प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ। साथै, हरियाली प्रवर्द्धनका लागि लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्यमा सातै प्रदेशमा १,७०० वृक्षारोपण गरिने घोषणा गरिएको छ।

बैंकले ज्योति गट ट्यालेन्टको दोस्रो संस्करण आयोजना गर्दै कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभालाई प्रोत्साहन गरेको थियो। विविध सिर्जनात्मक तथा कलात्मक प्रस्तुतिमार्फत सम्पन्न प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई बैंकका अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

बैंकले आफ्नो कर्पोरेट एन्थम पनि सार्वजनिक गरेको छ। बैंकको मूल उदेश्य, ध्येय र मान्यताको दर्पणको रुपमा सिर्जनात्मक र रचनात्मक ढंगले सम्पूर्ण सरोकारवालाहरुलाई सन्देश दिने उद्देश्यले एन्थम सिर्जना गरिएको हो। एन्थमले बैंकको पहिचान, मूल्य मान्यता, ध्येय र दूर दृष्टिलाई संगीतमार्फत जीवन्त रूपमा प्रस्तुत गर्दै कर्मचारी, ग्राहक तथा साझेदारहरूसँगको सम्बन्धलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ, जसमा करिब ५५ जना कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका छन्।

बैंकले वार्षिकोत्सवको अवसरमै निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर पनि आयोजना गरेको छ, जसमा बैंकका कर्माचारीहरुको उल्लेख्य सहभागिता थियो। बैंकमा १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका कर्मचारीहरूलाई सम्मानित गरिएको छ।