काठमाडौं। ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्तरी जिल्लाका स्थानीयका लागि निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गरेको छ।बैंकले तिलगंगा आँखा प्रतिष्ठान सँगको सहकार्यमा सप्तरीका ७० जना स्थानीयको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न गरेको हो। उक्त कार्यक्रम बैंकको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सञ्चालन गरिएको थियो।

सप्तरीको रुपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्रमा आयोजित शिविरमा २ हजारभन्दा बढी व्यक्तिको निःशुल्क आँखा जाँच गरिएको थियो। सोही क्रममा ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया गरिएकोमा ७० जनाको उपचारमा ज्योति विकास बैंकले प्रत्यक्ष सहयोग गरेको जनाएको छ।

ADVERTISEMENT

शल्यक्रियापछि बिरामीलाई आवश्यक पर्ने चस्मा र औषधि पनि निःशुल्क उपलब्ध गराइएको थियो। यस पहलमार्फत दृष्टिविहीन हुने जोखिममा रहेका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै जीवनस्तर सुधारमा सहयोग पुगेको बैंकले जनाएको छ।

ADVERTISEMENT

बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गर्ने घोषणा गरेको थियो। सोही सहमति अनुसार कार्यक्रम कार्यान्वयन गरिएको हो।

ज्योति विकास बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। बैंकका अनुसार समाजको समग्र विकास र जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ यस्ता पहलहरू अघि बढाइने छन्।

ADVERTISEMENT

हाल बैंकले देशभर ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।