काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा फागुन २८ गते काठमाडौंमा सम्पन्न भएको छ। सभामा बैंकका शेयरधनी, सञ्चालक समिति सदस्य, पूर्व सञ्चालक, पदाधिकारी र कर्मचारीको उपस्थिति रहेको थियो।

सभाको उद्घाटन बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गर्दै गरे। सभा अवधिभर आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणका वित्तीय रिपोर्टहरू छलफल गरी पारित गरिएको छ।

साथै, सभाले बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि सभा मार्फत पारित भएको छ।

ADVERTISEMENT

सभामा बैंकका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरे भने प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंकले समीक्षा अवधिमा हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी दिएका थिए। शेयरधनीहरूले गरेका प्रश्न र सुझावको जवाफ अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले दिएका छन्।

ADVERTISEMENT

ज्योति विकास बैंकले आफ्नो खुद मुनाफाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य बैंक/वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम छुट्याउँदै स्वास्थ्य र नवजात शिशुको जीवन रक्षामा योगदान पुर्‍याइरहेको छ। बैंकले ७० वटा न्यानो नानी मार्फत प्रत्येक वर्ष २५९० भन्दा बढी शिशुको जीवन बचाउन सफल भएको छ।

बैंकले आर्थिक वर्षमा करमा रु. ४१ करोड योगदान गरेको छ। हाल बैंकको चुक्ता पूँजी रु. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ। बैंकले उपत्यका र उपत्यकाबाहिर ११७ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।