काठमाडौं । ज्योति विकास बैंकले काभ्रेको रोशी गाउँपालिका–९ स्थित मंगलटार स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ ।

नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन बैंकले आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको हो।
सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्न उद्देश्यले बैंकले आफ्ना शाखा नहुने स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको छ। यो प्रयास बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित एउटा महत्त्वपूर्ण पहल भएको बैकले जनाएको छ ।

बेबी वार्मर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति थियो। साथै, अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो।

ADVERTISEMENT

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिन प्रदान गरिसकेको जनाएको छ। यी उपकरणहरुमार्फत हरेक वर्ष करिब २२९४ भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको जनाइएको छ।

ADVERTISEMENT

विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयंगम गर्दै बैंकले बेबी वार्मर मेसिन प्रदान गर्दै आएको छ। बैंकका अनुसार हालसम्म ११४७० भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएका छन्। ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।