काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर भत्काउन थालिएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनीका क्रममा आगजनी गरिएको आगजनीका कारण पूर्ण रुपमा क्षति पुगेको घर भत्काउन थालिएको हो । घर पुनर्निर्माणका लागि भत्काउन थालिएको हो ।
पहिलेको घरमा रेट्रोफिटिङ गरी देउवा एक वर्षअघि मात्र सो घरमा सरेका थिए । तर जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते उनको घरमा आगजनी मात्र गरिएन, लुटपाटसमेत गरियो । देउवा र उनकी श्रीमती आरजु राणा देउवामाथि सांघातिक आक्रमण भयो ।
६ महिना बितिसक्दा पनि देउवा दम्पती पूर्ण स्वस्थ भएका छैनन् । दुवैजना हाल हङकङमा छन् । एक महिनाअघि सिंगापुर उडेका देउवा उपचार सकेपछि हङकङ गएका हुन् ।
सम्भवतः यही साता देउवा दम्पती स्वदेश फर्किंदैछन् । उनीहरु आउनुअघि नै घर भत्काइसक्ने बताइन्छ । देउवाले अब बुढानिलकण्ठमा नयाँ घर नबनाउने मनस्थितिमा पुगेको स्रोतले बताएको छ ।
आफ्नो नाममा भएका जग्गा बेच्ने तयारीमा उनी छन् । छोरा जयवीर देउवाले नेपाल नफर्किने अडान लिएको बुझिएको छ । उनी धेरैजसो समय हङकङ र फ्रान्समा बस्दै आएका छन् ।









