काठमाडौं। नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन भदौ महिनामा गर्ने गरी तयारी अगाडि बढाएको छ। यस विषयमा मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा विस्तृत कार्यतालिका प्रस्तुत गरिने नेताहरूले बताएका छन्।

पार्टीका सभापति गगन थापा निर्वाचनपछिको पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्। यसअघि उपसभापति विश्वप्रकाश शर्मा को अध्यक्षतामा बसेको बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्दै उनलाई जिम्मेवारीमा निरन्तरता दिएको थियो।

ADVERTISEMENT

अब बस्ने बैठकमा सभापति थापाले नै अध्यक्षता गर्दै महाधिवेशनको मिति, कार्यतालिका र तयारीका चरणहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। नेताहरूका अनुसार भदौभित्र महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर उद्घाटन गर्ने तयारीसमेत भइरहेको छ।

ADVERTISEMENT

महाधिवेशनको तयारीअन्तर्गत वर्षा सुरु हुनुअघि नै क्रियाशील सदस्यताको काम टुंग्याएर तल्लो तहका अधिवेशनहरू सञ्चालन गर्ने योजना बनाइएको छ। तर सदस्यता व्यवस्थापनकै विषयमा पार्टीभित्र फरक–फरक धारणा देखिएका छन्। केही नेताहरूले पुराना सबै क्रियाशील सदस्यता खारेज गरेर नयाँ ढाँचाबाट अघि बढ्नुपर्ने माग गरिरहेका छन् भने अर्का समूहले भइरहेको कामलाई निरन्तरता दिनुपर्ने तर्क राखेका छन्।

यसअघि पनि महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरिए पनि कार्यान्वयन हुन सकेको थिएन। नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशनसमेत आयोजना गरिएको थियो, जसप्रति पार्टीभित्रै मतभेद देखिएको थियो। विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले त्यसप्रति असन्तुष्टि जनाउँदै आएका छन्।