काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। केन्द्रीय कार्यालय पुगेका नेताहरू पनि फर्किन थालेका छन्।

बैठकका लागि उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा, नेता सोबिता गौतमलगायत कार्यालय पुगेका थिए। यसअघि रास्वपाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने तय थियो। सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएका कारण रास्वपा सचिवालय बैठक भर्चुअल रूपमा बस्न लागेको हो।

प्रवक्ता मनिष झाले सचिवालय बैठक एक घण्टा पछि सुरू हुने जानकारी दिँदै सभापति लामिछानेको स्वास्थ्यको कारण भर्चुअल माध्यमबाट बस्न लागेको बताए । यसअघि शनिबार बस्ने भनिएको बैठक सभापति लामिछाने अस्वस्थ भएपछि आजको लागि सारिएको थियो । खुट्टाको चोट बल्झिएपछि लामिछाने उपचाररत छन् ।

रास्वपाले समानुपातिक बन्दसूचीमा रहेका ५७ सांसदको नाम टुंगो लगाउन केन्द्रीय सचिवालय बैठक डाकेको हो ।

रवि भने अदालतबाट मुद्दा फिर्ता नभएसम्म सक्रिय नबन्ने मनस्थितिमा छन् । सोही कारण लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।