काठमाडौं। प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने तयारी भइरहेको छ। तर नयाँ सरकार गठन भए पनि मन्त्रीहरूका लागि सरकारी आवासको व्यवस्था तत्काल सहज नहुने देखिएको छ।

ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास परिसर भदौ २४ गते भएको तोडफोड, लुटपाट र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मन्त्रीहरूको बसोबास व्यवस्थामा समस्या देखिएको हो। करिब एक अर्ब ३४ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको आधुनिक आवास क्षेत्र प्रयोगमा आएको एक वर्ष नपुग्दै क्षतिग्रस्त भएको बताइएको छ।

ADVERTISEMENT

सिंहदरबारस्थित संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार हालको अवस्थामा उक्त परिसर बस्न मिल्ने अवस्थामा छैन। त्यसैले नयाँ सरकारका मन्त्रीहरूका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गर्ने तयारी गरिएको छ।

कार्यालयका अनुसार काठमाडौं उपत्यकामा आफ्नै घर भएका मन्त्रीले आफ्नै घरमा बस्न सक्नेछन् भने अन्य मन्त्रीका लागि आवश्यक परे भाडामा घर लिएर बसोबासको व्यवस्था मिलाइनेछ।

ADVERTISEMENT

उता, क्षतिग्रस्त मन्त्री निवास परिसरको पुनर्निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ। २७ वटा भवन रहेको परिसरका धेरै क्षति पुगेका भवनको प्राविधिक अध्ययन गरी पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिएको जनाइएको छ।

प्राविधिक तथा आर्थिक मूल्याङ्कनपछि योग्य निर्माण कम्पनीसँग सम्झौता गरी पुनर्निर्माण कार्य अघि बढाइने योजना बनाइएको छ। सरकारले चालु आर्थिक वर्षको असार मसान्तसम्म पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।