काठमाडौं । जेनजी आन्दोलनपछि निर्वाचन भएर देशले युवा नेतृत्व पाएको छ । रास्वपा वरिष्ठ नेता प्रधानमन्त्री बालेन शाह नेतृत्वमा १५ जना मन्त्रीहरूले मन्त्रालयहरू सम्हालिरहेको अवस्थामा अहिले मन्त्रालयहरुमा पहिलेको जस्तो चहलपहल भने देखिएको छैन ।
विगतमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न पार्टीले सरकारको नेतृत्व गर्दा र मन्त्रीहरूको नियुक्ति गर्दा सिंहदरबारमा बधाई र शुभकामना दिनेहरुको भीड नै लाग्ने गर्दा थियो । तर सरकार बनेको पाँच दिनसम्म त्यस्तो देखिएको छैन ।
मन्त्रीहरूले मन्त्रालय सम्हालेको दिनबाटै हप्ता दिनसम्म बधाई र शुभकामना दिनेहरुको भीड लाग्ने मन्त्रालयहरू अहिले सुनसान जस्तै देखिएका छन् । रास्वपाले समेत सिंहदरबारमा भिडभाड नगर्न, बधाई र शुभकामना दिन नजान अपिल नै गरेको छ ।
पार्टीका कार्यकर्ता, नेता र आफन्तहरूको भीड लाग्ने सिंहदरबारमा सामान्य भेटघाटभन्दा पनि काम विशेषमा आउनेहरु देखिएका छन् । युवा नेतृत्वमा गठित अहिलेको सरकारले काम गर्न आएको र जस्तै परिस्थितिमा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् ।








