काठमाडौं । स्वामी आनन्द अरुणले नयाँ सरकार गठनसँगै नेपाल १० वर्षभित्र सिंगापुरजस्तै विकसित राष्ट्र बन्न सक्ने आशा जागेको बताएका छन्।
लायन्स क्लबको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विगतमा काममा ढिलाइ, न्यायका लागि पैसा खर्चनुपर्ने अवस्था जस्ता समस्याले निराशा बढाएको स्मरण गर्दै अहिले समय परिवर्तनतर्फ उन्मुख भएको बताए।
उनले नेपाली समाजमा हिन्दु संस्कारअनुसार सन्यासी र जोगीको उच्च प्रतिष्ठा रहेको उल्लेख गर्दै पछिल्लो समय देशभर नयाँ जागरणको लहर आएको बताए। “पहिले निराशाको वातावरण थियो, हरेक काम ढिलो हुन्थ्यो, पैसा नदिई न्याय पाउन कठिन थियो। तर अहिले तीन करोड नेपालीको मनमा नयाँ आशा पलाएको छ,” उनले भने।
स्वामी अरुणले सिंगापुरको विकासक्रमलाई उदाहरण दिँदै सुरुवाती अवस्थामा पानीसमेत मलेसियाबाट किन्नुपर्ने अवस्था भए पनि छोटो समयमै विकसित राष्ट्र बनेको उल्लेख गरे। “देश बनाउन धेरै समय लाग्दैन। २०–२५ वर्षमै सिंगापुर युरोपजस्तो बन्यो। नेपाल त प्राकृतिक रूपमा सम्पन्न देश हो,” उनले भने।
उनले नेपाललाई गरिब बनाइराख्न राजनीतिले भूमिका खेलेको आरोप लगाउँदै अबको परिवर्तनले देशको मुहार फेर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी उनले पर्यटन क्षेत्रको सम्भावना औंल्याउँदै ४० लाख जनसंख्या भएका देशहरूमा वार्षिक २ करोडसम्म पर्यटक आउने गरेको र मलेसियाले २०२६ मा ४ करोड ७० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको उदाहरण दिए। तर नेपालमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि वार्षिक ११–१२ लाख मात्र पर्यटक आउनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।
उनले नेपाललाई योग र ध्यानको विश्व राजधानीका रूपमा विकास गरी अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्नुपर्ने सुझाव दिएका छन्।
१० वर्षमै नेपाल सिंगापुर बन्न सक्छ : स्वामी आनन्द अरुण







