काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।
नेकपा एमालेकी सचिव पद्मा अर्यालले मोहन प्रसाद ओलीको निधन भएको जानकारी दिएकी हुन्। केही दिनदेखि अस्वस्थ रहेका उनको भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको बताइएको छ।
परिवार स्रोतका अनुसार मोहन प्रसाद ओलीको पार्थिव शरीर भक्तपुरको गुण्डुस्थित ओली निवासमा लगिनेछ। त्यहाँ श्रद्धाञ्जली अर्पण गरेपछि आजै दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको जनाइएको छ।
मोहन प्रसाद ओलीको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। उनका परिवारमा छोरा केपी शर्मा ओलीसहित अन्य सदस्यहरू रहेका छन्।







