काठमाडौं । यही फागुन २१ गते हुने निर्वाचनका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू सोमबार अपराह्नसम्म देशभरका मतदान केन्द्रमा पुग्ने गरी परिचालन गरिएको छ । निर्वाचन आयोगले मतदानमा खटिने सबै कर्मचारीलाई सोमबार बेलुकासम्म सम्बन्धित केन्द्रमा पुगिसक्न परिपत्र गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, दुर्गम तथा विकट क्षेत्रका मतदान केन्द्रमा केही दिनअघि नै सुरक्षाकर्मीसहितको टोली पुगिसकेको छ । यातायातको सुविधा पुगेका स्थानका कर्मचारीहरूलाई भने सोमबार अपराह्नसम्म केन्द्रमा पुगेर आवश्यक तयारी थाल्न निर्देशन दिइएको छ ।

‘सोमबार बेलुकीसम्म सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुग्नुपर्छ भनेर निर्देशन दिइसकेका छौं,’ प्रवक्ता भट्टराईले भने, ‘निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगेपछि उनीहरूले आवश्यक तयारीका काम पनि सुरु गर्नुपर्ने हुन्छ ।’

उनका अनुसार, सोमबार अपराह्नसम्म मतदान केन्द्रको चारकिल्ला तोकिएको सूचना टाँस्नुपर्नेछ । मतदान केन्द्रको परिधिभित्र पर्ने क्षेत्र स्पष्ट देखिने गरी सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा मतदान अधिकृतले निर्वाचन सामग्री बुझ्नेछन् र निर्वाचन सम्पन्न नहुँदासम्म कर्मचारी र सुरक्षाकर्मी सँगै रहनेछन् ।

आयोगका अनुसार, आइतबारसम्म सडक सुविधा नपुगेका र सदरमुकामबाट टाढा रहेका करिब ३०० मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम केन्द्रलाई प्राथमिकतामा राखेर कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ ।

शहरी क्षेत्र तथा तराईका मतदान केन्द्रमा भने ढिलोमा पनि सोमबार अपराह्नसम्म कर्मचारी पुगिसक्नेछन् । मतदान अधिकृतको जिम्मामा रहने मतपत्रलगायतका निर्वाचन सामग्रीको सुरक्षा नेपाल प्रहरीले गर्नेछ । आयोग र प्रहरी मुख्यालयले मतदान अधिकृत तथा सिलबन्दी गरिएका सामग्रीको २४ सै घण्टा निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

मतदान केन्द्र निर्धारण कार्यविधिअनुसार प्रत्येक स्थानीय तहको वडामा कम्तिमा एक मतदान केन्द्र रहनेछ । मतदाता संख्या बढी भएमा एउटै मतदान स्थलभित्र क, ख, ग गरी छुट्टाछुट्टै केन्द्र तोकिने व्यवस्था छ । तर एउटै स्थानमा सातभन्दा बढी मतदान केन्द्र राख्न नमिल्ने प्रावधान छ ।

मतदान अधिकृतले चारकिल्ला सूचना टाँसेपछि सर्वपक्षीय बैठक डाक्नुपर्नेछ । साथै निर्वाचनको प्रचारप्रसार बन्द गरिएको सूचना पनि जारी गर्नुपर्ने हुन्छ । त्यसपछि मतदान केन्द्रको व्यवस्थापन, मतदान अवधिभर सर्वपक्षीय बैठक सञ्चालन तथा मतपेटिकासम्बन्धी मुचुल्का तयार गर्ने कार्य सम्पन्न गर्नुपर्नेछ ।

मतदान सम्पन्न भएपछि दलका प्रतिनिधिको उपस्थितिमा मतपेटिकाको मुचुल्का गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ । मतपेटिका र निर्वाचन सामग्री बुझाएपछि मात्रै मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुने प्रवक्ता भट्टराईले बताए ।‘मतदान सम्पन्न भएर मतपेटिका सुरक्षित रुपमा बुझाएसम्म कर्मचारी र सुरक्षाकर्मीले संयुक्त रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्छ,’ उनले भने ।