काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरता कायम गर्न प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताइन।कार्कीले आज सिंहदरबारमा इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटमा सरकार चुनाव गराउने उद्देश्यका लागि आएको भएकाले अब कुनै द्विविधा नराखी निर्वाचन तयारी गर्न आग्रह गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले, “हामी चुनाव गराउनै लागिरहेका छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनका लागि आएका हौँ। शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलिसकेको छ। अबको हाम्रो लक्ष्य चुनाव गराउनु हो। चुनाव भए मात्र मुलुकमा दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ।”प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, पूर्वसांसद नेम्बाङले पनि प्रधानमन्त्री कार्कीलाई चुनाव सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिएका छन्।
भेटमा प्रधानमन्त्री कार्कीले नेम्बाङसँग चुनाव तयारीबारे पनि जिज्ञासा राखेकी थिइन। जवाफमा नेम्बाङले चुनावको तयारी भइरहेको जानकारी दिए। यस क्रममा प्रधानमन्त्रीले युवालाई नेतृत्वका भूमिकामा अघि आउनुपर्ने धारणा व्यक्त गर्दै भन्नुभयो, “चुनाव हुन्छ, तयारी अवस्थामा रहनू। तपाईँहरूजस्ता युवा देशको बागडोर सम्हाल्न आउनुपर्छ। बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरूमाथि शासन गर्नु हुँदैन। पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ। देश युवाले नै हाँक्नुपर्छ। युवामा साहस र ऊर्जा छ।”
यसैबीच, पूर्वसांसद नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुल पुनर्निर्माणमा तदारुकता देखाउनुपर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ स्थलगत अवलोकन गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिए।










