काठमाडौँ । मधेश प्रदेशका सुक्खाग्रस्त क्षेत्र पीडितहरु राहतको प्रतीक्षामा रहेका छन् । लामो समयदेखि पानी नपरेपछि खडेरीले मधेशका आठ जिल्ला प्रभावित भएका छन । सरकारले अन्न भण्डारका रूपमा रहेको मधेश प्रदेशलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले मधेश प्रदेशको सिफारिस तथा सङ्घीय गृह मन्त्रालयको प्रस्तावमा यो निर्णय गरेको हो ।
मधेश प्रदेशका आठ वटै जिल्लालाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ । । यसअघि असार २६ गते बसेको मधेश प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रवीन्द्र आचार्यले विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न मधेश प्रदेश सरकारले मङ्गलबार गरेको सिफारिसका आधारमा सङ्घीय गृह मन्त्रालयले मन्त्रीपरिषद्मा गरेको प्रस्तावका आधारमा नेपाल सरकारले सो निर्णय गरेको बताउनुभयो । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था आएमा नेपाल सरकारसमक्ष सिफारिस गर्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “घोषणापछि अब मधेश प्रदेश सरकारबाट नै विभिन्न कार्यव्रमहरूको घोषणा हुन्छ ।
मधेश प्रदेश सरकारले केही पूर्वतयारी गरेर नै सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हुनु पर्छ । त्यहाँका स्थानीय पालिकाहरूले पनि सुक्खाका कारण कहाँ कहाँ, के कस्ता समस्या उत्पन्न भएका छन् रु त्यसको तथ्याङ्क सङ्कलन गर्छन् र सके आफूले समस्या समाधान गर्छन् । नसकेको अवस्थामा प्रदेशमा सिफारिस गर्छन् । त्यसै गरी प्रदेश सरकारले पनि आफ्नो स्रोतसाधनले गर्न नसकेको अवस्थामा सङ्घीय सरकारसमक्ष राख्छ ।”
सङ्कटग्रस्त समस्याको निराकरणमा सहयोगका लागि प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारले विभिन्न माध्यमबाट सहयोग गर्ने प्रवक्ता आचार्यले बताउनुभयो । मधेश प्रदेशमा अहिलेसम्म ४६.८३ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यो बेलासम्ममा ८१.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो






