काठमाडौँ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा केरा बगानमा काम गर्ने क्रममा करेन्ट लाग्दा एक किसानको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४८ वर्षीय सहदेव लौगी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शुक्रबार बिहान आफ्नो केरा बगानमा धानको बीउ छर्न आवश्यक पानीको व्यवस्था गर्ने क्रममा उनी दुर्घटनामा परेका हुन्।

ADVERTISEMENT

प्रहरी निरीक्षक विजय कार्कीका अनुसार लौगीले विद्युतीय मोटरमार्फत पानी तान्नका लागि तार जडान गरिरहेका बेला अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। स्थानीयवासीले तत्काल उद्धारको प्रयास गरे पनि घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय भारदहको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADVERTISEMENT

मृतक लौगी स्थानीय स्तरमा कृषि पेशामा संलग्न किसानका रूपमा परिचित थिए। उनको असामयिक निधनले परिवार तथा गाउँ समुदाय शोकमा डुबेको छ।

खेतीपातीको मुख्य सिजन सुरु भएसँगै सप्तरीसहित मधेश प्रदेशका विभिन्न जिल्लामा विद्युतीय मोटर प्रयोग गरेर खेतमा सिँचाइ गर्ने चलन बढ्दै गएको छ। तर पर्याप्त सुरक्षा सावधानी नअपनाउँदा यस्ता दुर्घटनाहरू पनि दोहोरिने गरेका छन्। हरेक वर्ष खेतमा मोटर जडान गर्ने, तार तान्ने वा पानी तान्ने क्रममा करेन्ट लागेर किसानले ज्यान गुमाउने घटना सार्वजनिक हुने गरेका छन्।

स्थानीय किसानहरूले ग्रामीण क्षेत्रमा प्रयोग हुने विद्युतीय उपकरणको सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्न, सुरक्षित विद्युतीय जडानको व्यवस्था गर्न तथा यस्ता दुर्घटना न्यूनीकरणका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले कृषि क्षेत्रमा प्रयोग हुने विद्युतीय मोटर तथा तार व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन्।