काठमाडौं । कांग्रेस सभापति गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हब बनाउने गरी विभिन्न खाका सार्वजनिक गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा थोरै सुधार गर्दा पनि ठूलो नतिजा ल्याउन सकिने विश्वास व्यक्त गरेका हुन् । ‘केही समयअघि कीर्तिपुरको एक सभामा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख कमाउन सकिन्छ’ भनी दिएको अभिव्यक्ति ट्रोलको विषय बने पनि त्यो हावादारी कुरा नभई योजनाबद्ध सोच रहेको उनले स्पष्ट पारे ।

ADVERTISEMENT

अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका साना सुधारले पनि सकारात्मक नतिजा देखाएको उदाहरण दिँदै उनले अब थप व्यवस्थित र नीतिगत सुधारको खाँचो रहेको औंल्याए । थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने लक्ष्य राख्दै पाँच वर्षभित्रै करिब चार खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्न सकिने दाबी गरे ।

ADVERTISEMENT

थापाको योजनामा दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र तीनदेखि पाँचवटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य समावेश छ ।

यसका लागि उनले स्थिर कर नीति, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादनका लागि ‘ट्यालेन्ट हब’ निर्माण, र सार्वजनिक–निजी साझेदारीको मोडल अघि सारेका छन् । अब नेपाल फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन निर्माण र निर्यातमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । गगनको योजनालाई अर्थमन्त्री रामेश्वर खनालले पनि समर्थन गरेका छन् । त्यति मात्र होइन, जेनजी युवायुवतीले पनि थापाको घोषणा कुनै नौलो नभएको बताएका छन् ।

लगानीसम्बन्धी करिब ६० वर्ष पुरानो कानुनले विदेशमा लगानी गर्न पूर्ण प्रतिबन्ध लगाएकाले आईटी क्षेत्रमा त्यो व्यवस्था खुला गर्नुपर्छ भनेर कांग्रेसले पहल गरेपछि कानुनी सुधार भएको र चारभन्दा बढी नेपाली कम्पनीहरूले विदेशमा लगानी प्रक्रिया सुरु गरेका सभापति थापाले बताए।

‘आईटी क्षेत्रमा विदेशी लगानीको २ करोड रुपैयाँको सीमा ९क्याप० थियो। त्यो हटाएर स्वचालित प्रणालीमार्फत लगानी स्वीकृत हुने व्यवस्था गरियो। एक वर्षभित्र १६ कम्पनीमा आएको लगानी बढेर करिब ३८४ कम्पनीसम्म पुगेको छ। यसले देखाउँछ—सानो सुधारले पनि ठूलो परिणाम दिन सक्छ,’ उनले भने। थापाले आगामी पाँच वर्षभित्र विशेषगरी चार कुराहरुको सुधार गर्ने सके यसले सकारात्मक परिणाम दिने बताए।