काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि सोमबार बिहान हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका केसीको त्रिवि शिक्षण अस्पतालमा उपचार हुने उनका सहयोगी पवन थापाले जानकारी दिए।
टाइप–२ मधुमेहका बिरामी रहेका केसीको स्वास्थ्य परीक्षण गर्दा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था क्रमशः बिग्रिँदै गएपछि थप तथा विशेष उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।
विभिन्न माग राख्दै डा. केसीले गत बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको थियो।









