काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापालाई आधिकारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो ।
‘केन्द्रीय कार्यसमितिका सबै आदरणीय साथीहरूलाई सभापति श्री गगन थापालाई आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने प्रस्ताव पारित गरिदिनुहुन अनुरोध गर्दछु,’ बैठकमा शर्माले प्रस्ताव अघि सार्दै भनेका छन् ।
पार्टी बैठकपछि निर्णय सुनाउँदै शर्माले प्रधानमन्त्री घोषणा गरेर जाँदा पाँचवटा बुँदा प्रस्तुत गरेका थिए । मुलुकको विशिष्ट परिस्थितिको मागलाई सही ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन उनले आग्रह गरे । शर्माले प्रस्तावमा गगनले परिवर्तित समय र स्वरलाई ’डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने विश्वाससमेत व्यक्त गरेका छन् ।








