डोल्पा । डोल्पाको दानिगढ क्षेत्रमा भारी हिमपातका कारण फसेका भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ। फसेका छ जना पर्यटकमध्ये दुई जना महिलालाई सोमबार बिहान उद्धार गरी सिमिकोट ल्याइएको छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उद्धार गरिएका दुवै महिलाको स्वास्थ्य अवस्था सामान्य छ। बाँकी चार पर्यटकलाई उद्धार गर्न हेलिकप्टर पुनः दानिगढतर्फ उडेको छ।

ADVERTISEMENT

आइतबार नै उद्धार गर्ने तयारी गरिए पनि प्राविधिक समस्याका कारण सम्भव भएको थिएन। सुरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएकोमा उडानका बेला प्राविधिक समस्या देखिएको थियो।

ADVERTISEMENT

त्यसपछि सिम्रिक एयरको हेलिकप्टर पठाउने तयारी गर्दा आइतबार बेलुका साढे ४ बजे पुनः समस्या आएको थियो। सोमबार बिहान ६ बजे हेलिकप्टर उडाएर उद्धार कार्य अघि बढाइएको हो।

केही दिनदेखिको भारी हिमपातका कारण शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढ क्षेत्रमा भारतीय पर्यटक फसेका थिए। फसेका पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना विश्वास र राजेश दे रहेका छन्।