काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। समितिको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।
गत असोज २८ गते प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गरिएको थियो। नियुक्तिका लागि सिफारिस भएका १३ जनामध्ये समितिले १० जनाको नाम मात्र अनुमोदन गरेको थियो।
साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अस्वीकृत गरेको थियो। जापानका लागि प्रस्तावित थापाको विषयमा भने थप अध्ययन गर्ने भन्दै निर्णय स्थगित गरिएको थियो।
थापाको जापानमा स्थायी आवासीय अनुमति (पीआर) रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए। सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, संविधानको धारा २९१ र पीआर त्यागेको अवधिबारे सांसदहरूले थप स्पष्टता मागेका थिए।
यस विषयमा स्पष्ट हुन समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण मागेको थियो। मन्त्रालयले पनि नेपाली राजदूतावासमार्फत जापान सरकारसँग जानकारी मागेको छ। तर, जापान सरकारबाट त्यसको जवाफ प्राप्त भइसकेको छैन।
जवाफ नआइसकेको अवस्थामा समितिले आज बैठक बोलाएको हो। परराष्ट्र मन्त्रालयको राय लिएर यही कात्तिक १९ गतेभित्र थापाको विषयमा निर्णय गर्ने समितिको तयारी छ।
यसअघि समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जबरा र जर्मनीका लागि सरु जोशीलाई राजदूतमा अनुमोदन गरिसकेको छ।
त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलङ्काका लागि डा. मञ्चला कुमारी झाको नाम पनि समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ।
संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २५ को उपनियम २ अनुसार सम्बन्धित निकायबाट नाम प्राप्त भएको मितिले ४५ दिनभित्र संसदीय सुनुवाइ गरी निर्णयसहित सम्बन्धित निकायमा पठाउनुपर्छ। निर्धारित अवधिमा समितिले निर्णय दिन नसके प्रस्तावित व्यक्तिको नाम स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ।
थापाको नामबारे निर्णय गर्न तोकिएको ४५ दिने समयसीमा यही कात्तिक १९ गते सकिँदैछ। त्यसैले समयसीमा सकिनुअघि नै समितिले उनको नियुक्तिबारे टुंगो लगाउने तयारी गरेको हो।









