काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले नेपालमा पनि बंगलादेशको नियति दोहोरिने बताएका छन् । उनले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने उनको दाबी छ ।

काठमाडौंबाट आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा ५ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुने बताए । सामाजिक सञ्जालमा पपुलर व्यक्तिहरू पराजित भएको र आन्दोलनपछि उदाएको दल कम सिटमा खुम्चिएकोबारे पत्रकारले जिज्ञासा राखेका थिए । जवाफमा ओलीले नेपालमा चुनाव भएमा बंगलादेशको इतिहास दोहोरिने दाबी गरे ।

जेनजी विद्रोहपछि बंगलादेशमा भएको आमनिर्वाचनमा नयाँ खुलेका पार्टी र नेताले लज्जास्पद हार बेहोरेका थिए । चुनावमा बांग्लादेश नेसनलिस्ट पार्टीले दुई तिहाइ बहुमत ल्याएर सरकार बनाउने भएको छ ।

ओलीले निर्वाचन क्षेत्रका अधिकाश मतदातासँग प्रत्यक्ष भेट्ने चाहना भएको उनले बताए । रास्वपा नेता बालेन्द्र साह बालेन झापा ५ बाट उम्मेदवार बनेपछि ओलीले पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्र छाडेका छैनन् ।