काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले विधान महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त गरेका भनाइका सन्दर्भमा मिडियामा आएका सूचनाका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिको कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई अनौपचारिक भेटघाट मात्र भएको जनाउँदै प्रधानमन्त्रीको सचिवालयले ओलीले भन्दै नभनेको ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषय स्वार्थबाट प्रेरित भई बाहिर ल्याइएको जनाउँदै त्यसप्रति आपत्ति प्रकट गरेको छ ।

भेटमा ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र संघर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हितविपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनमा भएको क्षति, हाल पार्टीले अंगीकार गरेकोे नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, वर्तमान सरकारले विकास र सुशासनका लागि गर्दै आएका कामबारे आफ्ना विचार प्रस्तुत गरेको जनाइएको छ ।

प्रेस नोटमा भनिएको छ, ‘पूर्वराष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान अरू नेताले नगरेका र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत् रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर ‘मिडिया’ र पार्टीका अन्य नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यस रुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ । केन्द्रीय कमिटीले उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन ।’

साथै, प्रधानमन्त्रीको निजी सचिवालयले वास्तविकता नबुझी भ्रामक समाचार सम्प्रेषण नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।