काठमाडौँ । विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसंघको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ ।

राष्ट्रसंघको छातामुनि रही नेपाली सेनाले जोखिमयुक्त कार्य र जिम्मेवारीलाई समेत सहजै स्वीकार गरी इमान्दार, व्यावसायिक र आदेशपालक ‘च्याम्पियन’ सैनिकको परिचय दिलाउन सफल रहेको सिरियास्थित युएन शान्ति मिसनका पूर्वफोर्स कमाण्डर ईश्वर हमाल बताउँछन् ।

पूर्वरथी हमाल भन्छन्, ‘नेपाली शान्ति सैनिक अनुभवी, अनुशासित, तटस्थ, व्यावसायिक, आदेशपालक र भरपर्दो सैनिकका रूपमा परिचित छ । जोखिम अवस्थामा पनि तत्कालै परिचालित हुने भएकाले पनि नेपाली शान्ति सैनिकलाई सबैले मन पराउँछन् ।’

विश्व शान्ति, सुरक्षा, समानता र परस्पर सम्मानको साझा उद्देश्यका साथ स्थापना भएको विश्व मञ्चमा नेपालको प्रवेश भने सन् १९५५ डिसेम्बर १४ मा भएको थियो । नेपालले सन् १९६९–७० र सन् १९८८–१९८९ मा दुईपटक राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेको छ । त्यसो त नेपालको परराष्ट्र नीतिमै पनि राष्ट्रसंघकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ । द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिक पठाइने सिलसिलामा युएनको झण्डामुनिमात्र जाने नेपालले राष्ट्रिय नीति अवलम्बन गरेको छ ।

राष्ट्रको आह्वानमा पुरानो गोरख गण सन् १९७४ मा इजिप्टमा पहिलोपटक तैनाथ भएको थियो । त्यस समयदेखि संघका अधिकांश शान्ति मिसनमा सक्रिय सहभागी हुँदै आएको छ । यस अवधिमा ४४ मिसनमा एक लाख ६२ हजार ४९६ ‘ब्लु हेल्मेट धारी शान्तिकामी नेपाली सैनिकले योगदान पुर्याइसकेका छन् । त्यसबापत सोही सङ्ख्यामा ‘राष्ट्रसंघीय शान्ति पदक’ प्राप्त गरिसकेका छन् । विश्व शान्ति अभियानमा तीन हजार ६६६ बढी नेपाली महिला शान्ति सैनिकको योगदान छ । यसबीचमा सेनाले इन्जिनियर, मेडिकल र विशेष फौजको टुकडीजस्ता विशिष्ट क्षमताको फौज सहभागी गराएर राष्ट्रसंघङ्घको शान्ति कार्यमा महत्त्वपूर्ण योगदान दिइरहेको छ ।

साइप्रस मिसनमा खटिएका नेपाली सेनाका पूर्वफोर्स कमान्डर रथी भिक्ट्रीशम्सेर जवरा अन्तर्राष्ट्रिय जगत्मा मिसन हाक्ने गरी द्वन्द्वरत मुलुकमा फोर्स कमान्डर भएर जान पाउनु देश र संगठनका लागि ठूलो अवसर भएको बताउँछन् ।

नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसंघलगायत निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । विश्व शान्ति स्थापना कार्यमा परिचालित हुँदा हालसम्म ७४ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ७७ जना गम्भीर घाइते भएका छन् ।

पछिल्लो समय युएनमा आर्थिक अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित हुने शान्ति सैनिकको सङ्ख्यामा कटौती गरिएको छ । विसं २०७९ मङ्सिरमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति सैनिक तैनाथीसँगै मिसनमा सैनिक खटाउने मुलुकको सूचीमा नेपाल पहिलो वरियतामा पुगेको थियो । त्यसबेला नेपाली शान्ति सैनिकको सङ्ख्या सबैभन्दा बढी छ हजार १६ पुगेको थियो ।

विश्वका १० मिसनमा हाल ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन् । महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमै छ । राष्ट्रसंघले विश्व शान्तिकार्यका लागि नोबल पुरस्कार प्राप्त गर्नुमा नेपाली शान्ति सैनिकको पनि ठूलो योगदान छ ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैँ विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध छ । राष्ट्रसङ्घबाट नेपालाई अनुरोध भइआएमा ६० दिनभित्र मिसनमा तैनाथ गराउन सक्नेगरी उपकरण र आवश्यक थप जनशक्ति तयारी अवस्थामा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई ‘सेन्टर अफ एक्सेलेन्स’ बनाउने लक्ष्यअनुरूप भौतिक पूर्वाधार स्तरोन्नतिको काम भइरहेको छ । त्यस स्थानमा शान्ति स्थापना कार्यमा बहुराष्ट्रिय शान्ति सैनिकबीच अन्तरसम्बन्ध र साझेदारी बढाउन संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानसँग सम्बन्धित विभिन्न अभ्यासहरू सञ्चालन हुँदै आएको छ ।

जसअनुसार एक वर्षमा विदेशी ३१ र स्वदेशी ६४ जनाको सहभागितासहित चारवटा युएनसम्बन्धी विशिष्टिकृत तालिम सञ्चालन भयो । सोही अवधिमा उक्त केन्द्रमा १२ वटा शान्ति सेनाका युनिटका तीन हजार ५३१ जनालाई प्रिडिप्लोयमेन्ट तालिम दिइयो । अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको कूटनीतिक सम्बन्ध हासिल गर्ने एक महत्त्वपूर्ण उपाय र संयन्त्रका रूपमा नेपाली शान्ति सैनिक रहेको छ ।

राष्ट्रसंघमा फौज उपलब्ध गराएबापत नेपाललाई प्राप्त हुने रकम विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोत हो । शान्ति मिसनमा काम गर्ने सिलसिलामा नेपाली शान्ति सैनिकले नेपालको मूल्य, मान्यता, संस्कृति, भाषा र जीवनशैलीलाई विश्वमाझ परिचित गराएका छन् । त्योसँगै विश्वका विभिन्न प्रणाली, प्रविधि र असल अभ्यासबारे जानकारी लिने अवसर प्राप्त भएको छ ।

परराष्ट्र सम्बन्ध विस्तारका हिसाबले दूतावास नभएका ठाउँमा खटिएका शान्ति सैनिकबाट प्रत्यक्ष नभए पनि परोक्ष रूपमा सम्बन्ध विस्तारमा सहयोग पुग्दै आएको छ । उदाहरणका लागि राष्ट्रसंघको शान्ति कार्यलाई सवलीकरण गर्ने उद्देश्यले शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका परराष्ट्र र रक्षामन्त्रीको सहभागितामा प्रत्येक दुई वर्षमा मन्त्रीस्तरीय बैठक बस्दै आएको छ । जुन बैठकले विश्वका विभिन्न देशसँग नेपालको सम्बन्ध विस्तारमा सहयोग पुगिरहेको छ ।