काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा मृत्यु भएकामध्ये २२ जना मात्रै जेनजी प्रदर्शनकारी भएको बताएको छ ।

सेनाले शुक्रबार पत्रकार सम्मेलनको अयोजना गरी यस्तो तथ्य सार्वजनिक गरेको हो । सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले आन्दोलनमा मृत्यु भएकामध्ये २२ प्रदर्शनकारीको ज्यान गएको बताए।

ADVERTISEMENT

आन्दोलनमा ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी रहेको दाबी सेनाको छ । मृत्यु भएकामध्ये तीन प्रहरी, १० कैदी र अन्य ४१ रहेको उपरथी थापाले बताए ।
सेनाका अनुसार टिचिङ अस्पतालमा रहेका ११ शवको पहिचान खुल्न सकेको छैन।

आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ।

ADVERTISEMENT

यसैगरी, ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ। आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकोमा हालसम्म आठ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइसकेको छ।