काठमाडौँ। अल्फाबेट इन्कको आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म जेमिनी एआईले विश्वव्यापी रूपमा उल्लेखनीय विस्तार गर्दै मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७५ करोडभन्दा बढी पुगेको छ। यो उपलब्धिले जेमिनीलाई विश्वकै सबैभन्दा तीव्र रूपमा बढ्दै गएको एआई एप्समध्ये एकको रूपमा स्थापित गरेको छ।

अल्फाबेटले सार्वजनिक गरेको सन् २०२५ को चौथो त्रैमासिक तथा वार्षिक वित्तीय विवरणअनुसार, जेमिनी-३  को सफल सार्वजनिकरणपछि प्रयोगकर्ताको संख्यामा तीव्र वृद्धि देखिएको हो। कम्पनीका अनुसार, जेमिनीका आफ्नै एआई मोडेलहरू हाल प्रतिमिनेट १० अर्बभन्दा बढी टोकन प्रशोधन गरिरहेका छन्, जुन प्रत्यक्ष एपिआई  प्रयोगमार्फत ग्राहकले उपयोग गरिरहेका छन्।

अल्फाबेट तथा गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले जेमिनी को वृद्धिलाई कम्पनीको एआई रणनीतिमा ठूलो सफलता भन्दै खोज, क्लाउड र उपभोक्ता सेवामा एआई प्रविधिले प्रयोगकर्ता अनुभव र व्यवसायिक आम्दानी दुवै विस्तार गरेको बताए।

जेमिनीको मागसँगै गुगल क्लाउडमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। सन् २०२५ मा  गुगल क्लाउडको आम्दानी ४८ प्रतिशतले बढेर १७.७ अर्ब अमेरिकी डलर पुगेको छ, जसमा उद्यमस्तरीय एआई पूर्वाधार र समाधानहरूको मुख्य भूमिका रहेको कम्पनीले जनाएको छ।