काठमाडौं । विश्वकप फुटबल उपाधि यात्राको निर्णायक चरणमा प्रवेश गरेको छ। अन्तिम चार टोलीबीच हुने दुईवटा सेमिफाइनल खेलअघि विश्वभरका फुटबल समर्थकको ध्यान अब डलास र एटलान्टाका रङ्गशालातर्फ केन्द्रित भएको छ।
भोलि मंगलबार र पर्सि बुधबार मध्यराति हुने सेमिफाइनल खेलहरूले उपाधिका दुई दाबेदार तय गर्नेछन्। सबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएकाले खेलप्रति उत्साह र प्रतीक्षा दुवै उच्च छ।
फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएका छन्। उनले प्रत्येक खेलमा गोल गर्दै आएका छन् र स्पेनविरुद्ध पनि टोलीका मुख्य आक्रामक हतियार हुने अपेक्षा गरिएको छ। फ्रान्सबाट माइकल ओलिसे र उस्मान डेम्बेलेबाट पनि प्रभावशाली प्रदर्शनको अपेक्षा गरिएको छ।
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले यस संस्करणमा ६ खेलमा ८ गोल गरेका छन्। क्वार्टरफाइनलमा गोल गर्न नसके पनि सेमिफाइनलमा टोलीलाई लगातार दोस्रो विश्वकप फाइनलमा पुर्याउने लक्ष्यसहित मैदान उत्रिने अनुमान गरिएको छ।
स्पेनका १८ वर्षीय युवा प्रतिभा लामिन यामाल पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्दैछन्। उनी स्पेनको प्रमुख आकर्षण रहनेछन्। पछिल्ला दुई खेलमा बेन्चबाट प्रवेश गरेर निर्णायक गोल गरेका मिकेल मेरिनोले पनि सुरुआती टोलीमा स्थान बनाउन सक्ने सम्भावना छ।
यता इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन टोलीका प्रमुख गोलकर्ता रहे पनि नकआउट चरणमा जुड बेलिङ्घम उत्कृष्ट लयमा छन्। उनले क्वार्टरफाइनलमा दुई गोल गर्दै प्रतियोगितामा आफ्नो कुल गोल संख्या ६ पुर्याएका छन् र गोल्डेन बुटको दौडमा बलियो दाबेदारका रूपमा उभिएका छन्।
सेमिफाइनलमा स्टार खेलाडीहरूको प्रदर्शन र टोलीगत रणनीतिले फाइनल पुग्ने दुई टोलीको टुंगो लगाउने भएकाले विश्व फुटबलप्रेमीको नजर अब यी दुई बहुप्रतीक्षित भिडन्तमा केन्द्रित भएको छ।





