काठमाडौं । एनसेल फाउन्डेसनले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग गर्ने भएको छ ।
यसका लागि एनसेल फाउन्डेसन र विदुर नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हस्ताक्षर गरेका हुन् ।
गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले क्याम्पसका संरचनामा व्यापक क्षति पुर्याएपछि तीन सयभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो । फाउन्डेसनले नगरपालिकाको समन्वयमा नियमित कक्षा सञ्चालनका लागि ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सहयोग गर्ने जनाएको छ ।

त्यसैगरी, क्याम्पस सञ्चालनका लागि आवश्यक कम्प्युटर, फर्निचरलगायत शैक्षिक सामग्रीसमेत उपलब्ध गराइनेछ । यसबाट प्रभावित विद्यार्थीलाई पुनः सहज शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।
मेयर श्रेष्ठले क्याम्पसको पठनपाठन सञ्चालनका लागि आवश्यक शैक्षिक पूर्वाधार सहयोग गर्न लागेकोमा एनसेल फाउन्डेसनप्रति आभार व्यक्त गरेका छन् । उनले यस सहकार्यलाई सकारात्मक रूपमा लिँदै नगरपालिकाका अन्य क्षेत्रमा पनि शैक्षिक सहयोग विस्तार गर्न मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।
एनसेल फाउन्डेसनकी निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न फाउन्डेसन प्रतिबद्ध रहेको बताइन् । स्थानीय समुदाय र निकायसँग प्रत्यक्ष सहकार्य गरेर आवश्यकताका आधारमा सहयोग गर्ने योजना रहेको उनको भनाइ छ ।
उनले विदुर नगरपालिकासँगको सहकार्य सुरुवात मात्र भएको उल्लेख गर्दै स्थानीय साझेदारसँग मिलेर अन्य प्रभावित विद्यालय तथा क्याम्पसको पहिचान गरी सहयोग विस्तार गरिने बताइन् ।
एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको थियो । त्यसपछि प्रभावित क्षेत्रका विद्यालय तथा विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले स्थानीय तहसँगको समन्वयमा कार्यक्रम अघि बढाएको हो ।
यस कार्यक्रमको कार्यान्वयन साझेदार संस्था कर्मयोग फाउन्डेसनमार्फत हुनेछ । एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र स्थानीय तहले संयुक्त रूपमा आवश्यकता मूल्याङ्कन गरी पठनपाठन पुनःसञ्चालन तथा निरन्तरताका लागि सहयोग आवश्यक रहेका अन्य विद्यालय र क्याम्पसको पहिचान गर्नेछन् ।












