काठमाडौं । भिजिट भिसामा युएई जाने नेपाली नागरिकको राहदानीमा अनावश्यक टिप्पणी लेख्ने दुई अधिकृत कारबाहीमा परेका छन् ।
अध्यागमन विभागले गैरकानुनी अभ्यास गर्ने दुईजना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइ सो सम्बन्धमा आवश्यक छानबिन भइरहेको जनाएको छ । विभागले साेमबार विज्ञप्तिमार्फत यस्ताे जानकारी गराएकाे हाे ।
‘प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अध्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरूलाई अध्यागमन कार्यालय त्रिअविको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको छ’, विभागले भनेको छ ।
केही महिनाअघि युएई प्रस्थान गर्न लागेका एक नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘इमप्लोइमेन्ट इज स्ट्रिकली प्रोहिबिटेड भिजिटेड टील १०/६/२०२६’ लेखेको विषयमा विभागले छानबिन समिति गठन गरेको थियो ।
राहदानीमा गैरकानुनी टिप्पणी लेखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि सरकारले यस प्रकरणमा एक्सन लिएको हो ।







