वीरगञ्ज ।  चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट दुई पाङ्ग्रे सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार तथ्याङ्कअनुसार यस अवधिमा ३२ हजार ३३१ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात हुँदा करिब रु ४ अर्ब ५६ करोड बराबरको कारोबार भएको छ।

ती सवारीसाधनको आयातबाट राज्यले रु ४ अर्ब ४३ करोड राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए, जसको मूल्य रु ३ अर्ब ३८ करोड रहेको थियो।

ADVERTISEMENT

यसैगरी, चालु आवको पहिलो छ महिनामा चार हजार ५६७ वटा पूर्ण रूपमा एसेम्बल्ड मोटरसाइकल आयात भएका छन्, जसको मूल्य रु ४५ करोड ८१ लाख बराबर रहेको छ। गत आवको यही अवधिमा भने दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए, जसको मूल्य रु २० करोड ७६ लाख थियो।

विद्युतीय सवारीसाधनतर्फ पनि आयात बढ्दो क्रममा देखिएको छ। चालु आवको पहिलो छ महिनामा चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात हुँदा रु ५८ करोड १८ लाख बराबरको कारोबार भएको छ। गत आवको सोही अवधिमा दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए, जसको मूल्य रु ३० करोड ९६ लाख थियो।