काठमाडौँ । नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई थप एक महिना समय दिइएको छ ।

सरकार र आन्दोलनरत समूहबीच भएको सहमति अनुसार कार्यदललाई थप एक महिना समय दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।सहमति अनुसार कार्यदलले नर्ससहित अन्य विषयको विस्तृत अध्ययन गरी समाधानका लागि ठोस कार्ययोजना तयार गर्न केही समय लाग्ने भएकाले मङ्सिर १५ गतेसम्म म्याद थप्ने निर्णय भएको जानकारी दिए ।
नर्सको सेवा सुविधाबारे सरकारले मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको थियो ।

ADVERTISEMENT

कार्यदलले अस्पतालको वर्गीकरण गरेर नर्सको सेवा सुविधा तोकी प्रतिवेदन बुझाउने जनाएको छ । कार्यदलका संयोजक श्रेष्ठले तत्काल गर्न सक्ने कामलाई चाँडै प्रतिवेदनमा समेट्ने जानकारी दिए ।

सहमतिअनुसार ठूला अस्पताल र निजी मेडिकल कलेजले कात्तिकदेखि पाँचौं तह सरह तलब दिनेछन् । अन्य निजी तथा सामुदायिक अस्पतालले भने पाँचौं तह सरहको ८० प्रतिशत सेवा सुविधा उपलब्ध गराउने सहमति भएको छ ।