काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको एक महत्वपूर्ण कोशेढुङ्गा भएको बताएका छन्।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग आज यहाँ भएको शिष्टाचार भेटमा जापानका विदेश राज्यमन्त्री होरी इवाओले राष्ट्रपति पौडेलसँग द्विपक्षीय सम्बन्ध, विकास सहयोग र लगानीका अवसरबारे छलफल गरेका थिए।
राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण र विश्वासिलो विकास साझेदार रहेको बताए। उनले भने, “जापानले नेपाललाई अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ जसले मानव संसाधन, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र संस्कृति जगेर्ना जस्ता क्षेत्रमा उल्लेख्य भूमिका खेलेको छ। हामी जापानको अनुभव, ज्ञान र प्रविधिबाट अझ लाभान्वित हुन चाहन्छौँ।”
राष्ट्रपति पौडेलले नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रको श्रेणीबाट स्तरोन्नतिका क्रममा रहेको उल्लेख गर्दै जापानबाट सद्भाव र सहयोग निरन्तर प्राप्त हुनेमा विश्वास व्यक्त गरे। उनले नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने सम्भावना रहेको र विदेशी लगानी सहज बनाउन कानुनी, प्रक्रियागत तथा संस्थागत सुधार गरिसकेको जानकारी दिए।
सांस्कृतिक रुपमा दुई मुलुक गौतम बुद्धको शिक्षाबाट प्रेरित भएको र लुम्बिनीले नेपाल–जापान जनताबीच बलियो पुलको काम गरेको उल्लेख गर्दै उनले लुम्बिनीको विकासमा जापानले पुर्याएको योगदानप्रति आभार व्यक्त गरे।
जापानी विदेश राज्यमन्त्री होरी इवाओले पनि नेपालमा संविधान र लोकतन्त्रको रक्षामा राष्ट्रपति पौडेलको भूमिका प्रशंसायोग्य रहेको भन्दै नेपालको शान्ति, स्थायित्व र लोकतन्त्र सुदृढ बनाउन जापान निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बाढी प्रभावित काठमाडांैँ–सिन्धुली सडक पुनर्निर्माण र काठमाडौँ–कोटेश्वरको ‘अन्डर पास’ निर्माणमा सहयोग गर्ने जानकारी समेत दिएका छन्।
राष्ट्रपति पौडेल, प्रथम महिला सबिता पौडलसहितको नेपाली प्रतिनिधिमण्डल जापानको निमन्त्रणामा चारदिने उच्चस्तरीय भ्रमणमा रहेका छन्।








