काठमाडौँ । माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा साेमबार आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको सीमा बढाउनुपर्ने माग गरेका हुन् ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमेत उपस्थित रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले पाँच लाखभन्दा माथिको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थामा संशोधन आवश्यक रहेको बताए ।

ADVERTISEMENT

महासंघका अध्यक्ष ढकालले बैंकिङ पहुँच र यसको प्रयोग देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या सिर्जना गरेको उल्लेख गरे । यस्तो सीमा तोकिनुका पछाडि नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा ‘ग्रे लिस्ट’मा रहेकाले सरकार र केन्द्रीय बैंकमाथि अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब परेको हुन सक्ने उनको भनाइ थियो ।

अध्यक्ष ढकालले लगानी वातावरण सहज बनाउने तथा निजी क्षेत्र प्रवर्द्धन गर्ने आर्थिक नीतिमा संशोधन गर्न अहिले सही समय रहेको धारणा व्यक्त गरे । भन्सार राजस्वलाई मात्र प्राथमिकता दिनेभन्दा मुलुकभित्रका उद्योग–व्यवसाय तथा उद्यमशीलता प्रवर्द्धन गर्ने नीतिमा सरकार अघि बढ्नुपर्ने उनको जोड थियो । साथै होटल तथा पर्यटन क्षेत्रले अन्य उद्योगसरह राज्यबाट पाउने सुविधा प्राप्त गर्न नसकेको उल्लेख गरे

ADVERTISEMENT

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार प्रशासन राष्ट्रिय अर्थतन्त्र र व्यापार सहजीकरणका लागि अत्यन्त महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै आर्थिक सुशासन कायम गर्न सक्नुपर्ने आवश्यकता औँल्याए । उनले विद्यमान भन्सार ऐनमा रहेका दण्ड–जरिवानासम्बन्धी व्यवस्था कठोर र अव्यावहारिक रहेको आरोप लगाए ।

अग्रवालले मूल्य अभिवृद्धि करमा बहुदर कायम गरिनुपर्ने आवश्यकता औँल्याउँदै नेपाललाई वैवाहिक कार्यक्रमका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न त्यस्ता कार्यक्रमका लागि नेपाल आउने सामग्रीमा भन्सार सहजीकरण हुनुपर्ने बताए । पाँच लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थाले व्यवसायीलाई समस्या सिर्जना गरेको उनको भनाइ थियो ।