काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।
जीतपुर सिमरा उद्योग वाणिज्य संघको आठ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै उनले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिए । उनले यस विषयमा महासंघले सरकार नियामक नियकासंग पैरवी गरिरहेको समेत बताए ।
महासंघले देशको आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघको पहल र पैरवीले सरकारले विभिन्न ३० वटा कानूनहरु संशोधन गरेको र यसबाट लगानी मैत्री वातावरण सिर्जना भएको बताए ।
अध्यक्ष ढकालले जीतपुर सिमरा उद्योग वाणिज्य संघले नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्न, व्यवसायीहरूको समस्या समाधान गर्न र स्थानीय स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्न सक्रिय रहनुपर्नेमा जोड दिए ।
जीतपुर सिमरालाई तराईको औद्योगिक केन्द्रको रूपमा उल्लेख गर्दै यस क्षेत्रको भौगोलिक अवस्थिति, सिमरा विमानस्थल तथा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ जस्ता पूर्वाधारले व्यापार र उद्योगको अभूतपूर्व सम्भावना बोकेको बताए ।
संघले साना तथा मझौला उद्यमहरूको प्रवद्र्धन, रोजगारी सिर्जना, कर तथा प्रशासनिक झन्झटको समाधान र पूर्वाधार सुधारका विषयमा खेलेको भूमिकाको प्रशंसा गर्दै आउने दिनमा थप रचनातमक कार्य हुने अपेक्षा गरेको धारणा राखे ।