काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पब्लिक डिबेटका लागि दिएको चुनौती अस्वीकार गरेका छन् ।

भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग भइरहेको समयमा ओलीले यसका लागि आफू तयार भएको बताएका थिए ।

ADVERTISEMENT

ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको भन्दै आफू पारदर्शी बहसका लागि तयार रहेको बताएका थिए। उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्रीले वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएको छ। देशको नेतृत्व गर्न खोज्ने दलका एजेण्डा, विगतका काम र भविष्यको रोडम्यापबारे आमने(सामने बहस हुनु सकारात्मक छ ।’

ओलीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका सबै पक्षलाई एउटै मञ्चमा ल्याउन आयोजकहरूलाई आग्रह समेत गरेका छन्। ओलीको स्टाटसमा कमेन्ट गर्दै बालेनले भनेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ? तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ? ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

ADVERTISEMENT

बालेनले ओलीलाई आतंकवादीको आरोपसमेत लगाएका छन् । बालेनको यो अस्वीकारसँगै अब सार्वजनिक बहसको चर्चा सेलाउने भएको छ । यस विषयमा कांग्रेस सभापति गगन थापाको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।