काठमाडौँ। बैंक तथा वित्तीय क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले चासो देखाएको छ। यही सन्दर्भमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीबीच शुक्रबार विशेष छलफल भएको थियो ।

                                                                     तस्वीर : नेपाल राष्ट्र बैंक को सामजिक सञ्जाल

छलफलमा बैंक तथा वित्तीय संस्था, तिनका भौतिक सम्पत्ति र त्यहाँ कार्यरत कर्मचारीहरूको सुरक्षा अवस्थाबारे विस्तृत कुराकानी भएको बताइएको छ। पछिल्लो समय केही स्थानमा बैंकका कर्मचारीमाथि दुर्व्यवहार, धम्की तथा शाखा कार्यालयबाट नगद लुटपाटका घटना बढ्दै गएपछि केन्द्रीय बैंकले सुरक्षा निकायसँग समन्वय सुरु गरेको हो।

बैठकमा सुरक्षा जोखिम न्यूनीकरणका उपाय, बैंकिङ गतिविधिमा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने विषय र सम्भावित खतरालाई कसरी रोकथाम गर्ने भन्नेबारे छलफल भएको जनाइएको छ।

उक्त छलफलमा नेपाल बैंकर्स संघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। बैंकरहरूले कार्यक्षेत्रमा खटिँदा भोग्नुपरेका सुरक्षा समस्या र असहजताबारे गभर्नर र प्रहरी नेतृत्वलाई जानकारी गराएका थिए।

                                                                  तस्वीर : नेपाल राष्ट्र बैंक को सामजिक सञ्जाल