काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजन हुनमा सबैको बराबरी दोष रहेको बताएका छन् । पार्टी विभाजन भएको भोलिपल्ट बिहीबार उनले विज्ञप्ति जारी गर्दै कांग्रेस विभाजनमा राष्ट्रिय अन्तर्राष्ट्रि शक्तिको हात रहेको दाबी गरेका छन् ।

‘कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न । हामी सबै कहीँ न कहीँँ चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन । यस विचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिकावारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहासमा सुम्पन्छु,’ उनले भनेका छन्, ‘दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसविच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ । कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्नेमा सबैको इमान्दार प्रयास थियो । तर त्यसो हुन सकेन ।’

कोइरालाले कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई नियतिको खेल मानेका छन् । ‘अब हाम्रा सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी छ । यस कठिन घडीमा कांग्रेसको संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र हामी इतिहाँसले र हाम्रा अग्रज नेताहरुले दिएको जिम्मेवारी पुरा गर्न सक्छौँ । यसका लागि सम्पुर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको छ । तसर्थ, साथीहरु कांग्रेस पार्टी आम कार्यकर्ता साथीहरुले निर्माण गरेको पार्टी हो, हाम्रा साझा इतिहास छन्, साझा नेता र शहिदहरु छन् । हामी यिनैको प्रेरणाबाट नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ,’ उनले भनेका छन् ।

ADVERTISEMENT

कांग्रेस विभाजन हुनुमा शेखरको पनि भूमिका देखिएको छ । उनले यति धेरै विवाद हुँदा पनि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पक्ष लिएनन् ।

ADVERTISEMENT

‘नेपाली जनताले गरेको भरोसा र विश्वासलाई आममतदाताले विगतमा पार्टी विभाजनको कारण प्रभावित हुन दिएका थिएनन् । आज एकपटक फेरि तपाई हामी हाम्रा सबै अग्रज नेताहरुको मार्गदर्शनबाट र शहिदहरुको बलिदानलाई सम्झेर नेपाली जनताको समृद्धिको यात्रामा जनताको घरदैलोमा भोट ग्न जानुपरेको छ । समय छोटो छ, तर पनि यथासम्भव तपाईहरुको घर आंगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु । पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया रोकिने छैनन् । म आह्वान गर्छू, हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ,’ कोइरालाले भनेका छन् ।