काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले विराटनगरस्थित ‘कोइराला निवास’ को मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन् ।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै राज्यको सीमित स्रोत र साधन अभाव, वञ्चना र कष्टमा रहेका आमनागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै सरकारले छुट्याएको रकम लिन नसकिने बताएका हुन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघर (कोइराला निवास) को मर्मतका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको थियो । बजेटका लागि सरकारप्रति आभार प्रकट गर्दै कोइरालाले अहिलेको परिस्थितिमा रकम फिर्ता गर्ने निर्णय लिएका हुन् ।

ADVERTISEMENT

‘राज्यसामु आमनागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानका लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु,’ उनले लेखेका छन् ।

ADVERTISEMENT

कोइरालाले बीपी कोइरालाले जीवनभर नेपालीको गाँस, वास र कपासका लागि संघर्ष गरेको स्मरण गर्दै राज्यले विपन्न नागरिकको पक्षमा काम गर्नु नै बिपी र कोइराला निवासप्रति सच्चा श्रद्धाञ्जली र न्याय हुने उल्लेख गरेका छन् ।

विराटनगर महानगरपालिका–७ मा रहेको यो ऐतिहासिक घर बिपीका बाबु कृष्णप्रसाद कोइरालाले एक शताब्दीअघि निर्माण गरेका थिए । सो घर गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जलाइएको थियो ।