काठमाडौँ। पश्चिमी अस्ट्रेलियामा अवैध चुरोट, भेप र खुला सूर्तीजन्य बस्तुको बिक्रि वितरण नियन्त्रण गर्न प्रहरीले छापामार्दा  फेला परेको एउटा ठूलो कारोबारमा नेपाली विद्यार्थीलाई ‘बलिको बोका’ बनाइएको तथ्य अदालतमा खुलेको छ।

पर्थ म्याजिस्ट्रेट अदालतमा दायर भएको उक्त मुद्दामा नेपालकी २० वर्षीया स्नेह खरालले अनुमति बिना सूर्तीजन्य बस्तु बिक्री गरेको आरोप स्वीकार गरेकी छन्। उनी ककबर्न सेन्ट्रलस्थित एक सूर्तीजन्य बस्तु बेच्ने  पसलमा काम गर्थिन्, जहाँबाट प्रहरीले ६६ हजार ५०० वटा चुरोट, १,२०८ वटा  निकोटिनयुक्त भेप, चार किलो खुला सुर्ती र ५० ग्राम तौलका १११ प्याकेट सुर्ती बरामद गरेको थियो।

ADVERTISEMENT

यो छापा गत वर्ष डिसेम्बर २ मा ‘ट्रान्सनेशनल सिरियस अर्गनाइज्ड क्राइम’ टोलीले मारेको थियो। प्रहरीले पसलका ग्राहकहरूले अवैध भेप खरिद गरेको आशंकामा नियन्त्रणमा लिएपछि अनुसन्धान अगाडि बढाएको थियो। सरकारी वकिलले बरामद सामग्रीलाई “अत्यन्त ठूलो परिमाण” बताएको थियो ।

स्नेहा खरेल उक्त स्टोरमा घण्टाको २० डलरमा काम गर्ने गर्थिन जुन उनले पाउने न्यूनतम ज्यालाभन्दा करिब ५ डलर कम हो। पसलको दैनिक कारोबार सञ्चालनको जिम्मा उनैलाई दिइएको थियो। तर पसलका वास्तविक मालिक को हुन् भन्नेबारे उनले आफुलाई थाहा नभएको प्रहरीलाई बताएकी थिइन्।

ADVERTISEMENT

उनले आफु नेपालबाट आएर अध्ययन गरिरहेकी विद्यार्थी भएको र कलेजका एक साथीमार्फत आफुले उक्त काम पाएको बताएकी छिन । उनले आफूले गरेको काम गैरकानुनी हो भन्ने कुरा थाहा नभएको र आफु तल्लो तहको कामदार मात्र रहेको दाबी गरेकी छिन ।

उनका वकिलले अदालतमा उनलाई बलिको बोको बनाइएको तर्क राखेका थिए।

यस मुद्दामा स्नेहासँगै अन्य तीन जना अभियुक्त पनि अदालतमा उपस्थित भए छन् तर उनीहरूले आफ़ो दोष स्वीकार गरेका छैनन्। उनीहरूको मुद्दामा जनवरी १६ मा पुनः सुनुवाइका लागि मिति तोकिएको छ।

सजाय सुनाउँदै म्याजिस्ट्रेटले स्नेहाले अवैध सुर्ती र भेप बिक्रीसम्बन्धी केही हदसम्म जानकार रहेको स्वीकार गरे पनि उनी यसमा ‘सानो खेलाडी’ मात्र भएको निष्कर्ष निकालेको छ । अदालतले उनलाई यो मुद्धामा १८ सय डलरको जरिवाना र ३०८ डलर अदालत खर्च तिर्न आदेश दिएको छ।