काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले कतारलाई ६–० गोलअन्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ। विश्वकप इतिहासमा समूह चरणको खेलमा क्यानडाको यो पहिलो जित हो।

सन् १९८६ मा पहिलोपटक विश्वकप खेलेको क्यानडाले त्यसयता २००२ र हालको संस्करणमा सहभागिता जनाएको छ। तर यसअघि समूह चरणमा कुनै जित निकाल्न सकेको थिएन। कतारविरुद्धको ६–० को नतिजा क्यानडाको विश्वकप इतिहासकै सबैभन्दा ठूलो जित बनेको छ।

खेलको १६औँ मिनेटमा क्लाइल केरिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा जोनाथन डेभिडले गोल गरे भने पहिलो हाफ सकिनुअघि उनले व्यक्तिगत दोस्रो गोल थप्दै क्यानडालाई ३–० को मजबुत अग्रता दिलाए।

ADVERTISEMENT

कतारका होमाम अहमदले ३३औँ मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। दोस्रो हाफको ५५औँ मिनेटमा असिम ओमामिदोलाई पनि रातो कार्ड देखाइएपछि कतार नौ खेलाडीमा झरेको थियो।

ADVERTISEMENT

खेलको ६३औँ मिनेटमा लियाम मिलरले क्यानडाका लागि चौथो गोल गरे। ७४औँ मिनेटमा कतारका मोहम्मद मुनाइको आत्मघाती गोलले स्कोर ५–० बन्यो।

ADVERTISEMENT

इन्जुरी समयमा जोनाथन डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै क्यानडाको शानदार ६–० जित सुनिश्चित गरे। घरेलु समर्थकमाझ उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए।

यस जितसँगै क्यानडाले दुई खेलबाट चार अंक जोडेको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा क्यानडाले बोस्निया हर्जगोभिनासँग बराबरी खेल्दै एक अंक बटुलेको थियो।