काठमाडौं।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–२ स्थित राखु भगवती स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री तथा स्वच्छ खानेपानी व्यवस्थापनका लागि पाइप सहयोग प्रदान गरेको छ।

बैंकको बेनी शाखामार्फत गरिएको सहयोगअन्तर्गत स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि आवश्यक एचडीपीई पाइप हस्तान्तरण गरिएको हो।

ADVERTISEMENT

उक्त स्वास्थ्य चौकीले वडा नं. १ र २ का ४,३०० भन्दा बढी स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। साथै, स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको २४ घण्टे प्रसूति सेवा केन्द्रले ग्रामीण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

बैंकले स्वास्थ्य चौकीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा स्थानीय समुदाय, विशेषगरी विपन्न र सीमान्तकृत परिवारको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको जनाएको छ। यस सहयोगले स्वास्थ्य संस्थाको भौतिक तथा सेवा पूर्वाधार सुदृढ भई मातृ तथा शिशु स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवाको गुणस्तरमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

ADVERTISEMENT

बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रका विविध कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने योजनालाई निरन्तरता दिने जनाएको छ।

सिटिजन्स बैंकले हाल देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।