काठमाडौं । फागुन २१ मा आमनिर्वाचन गर्ने एक मात्र म्यान्डेट पाएकी प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । उनले शुक्रबार चार मन्त्रीहरूको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । आधा कार्यकाल बिताएपछि कार्कीले सरकार विस्तार गरेकी हुन् ।

मन्त्रीमा सिफारिस गरिएकामा पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ, माधव चौलागाईं र कुमार इङ्नाम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नवनियुक्त मन्त्रीहरुको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणको तयारी गरिएको छ ।

ADVERTISEMENT

नयाँ मन्त्री बन्न लागेका भण्डारी नेपाल प्रहरीका पूर्वएआइजी हुन् । भण्डारी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सार्वजनिक सेयरधनीको प्रतिनिधित्व गर्दै बोर्ड अफ डिरेक्टरमा छन् । उनी २०८० फागुन २० गते सञ्चालक बनेका हुन् ।

श्रेष्ठ नेपाल पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखका रूपमा कार्यरत छिन् । बोर्डको वरिष्ठ प्रबन्धक भएर काम गरिरहेकी श्रेष्ठलाई मन्त्री नियुक्तिका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।

ADVERTISEMENT

भूमिमन्त्रीको जिम्मेवारी पाउन लागेका इङ्नामले लामो समयदेखि ‘काठमाडौँ स्कुल अफ ल’मा अन्तर्राष्ट्रिय व्यापार र वित्तीय अपराध विषयमा प्रध्यापन गर्दै आएका छन् । वनमन्त्री बनाइन लागेका चौलागाईँ लेखक तथा अनुसन्धानकर्ता हुन् ।

यसअघि प्रधानमन्त्री कार्कीले बढीमा ११ जनासम्म मन्त्री नियुक्त गर्ने बताएकी थिइन् । तर अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित १५ सदस्यीय बन्ने भएको छ । नेपालको संविधानअनुसार संघीय मन्त्रिपरिषद् २५ सदस्यीय हुने उल्लेख छ । प्रधानमन्त्रीसहित २२ वटा मन्त्रालय छन् । र, तीनजना राज्यमन्त्री नियुक्त हुने गरेका छन् ।

अझै प्रधानमन्त्री कार्कीले रक्षा, परराष्ट्र, पर्यटनसहित चारवटा मन्त्रालयको जिम्मेवारी निर्वाह गरेकी छन् । मन्त्री कुलमान घिसिङलाई तीन र अनिल सिन्हालाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।