काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको स्वरूप र मितिलाई लिएर मतभेद चुलिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेमै समाप्त भइसकेको दाबी गर्दै नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका छन्।

यसअघि मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको थियो। तर सोही निर्णयअनुसारको तयारी प्रभावित भएपछि अहिले नियमित महाधिवेशनलाई २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने तालिका प्रस्ताव गरिएको हो।

ADVERTISEMENT

यता पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशन नै आवश्यक रहेको अडानमा छन्। उनीहरूले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन्।

बिहीबार साँझ महामन्त्रीद्वयले संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगन भइसकेको अवस्थामा विशेष महाधिवेशनको विकल्प नरहेको उल्लेख गरेका छन्। उनीहरूको उक्त वक्तव्य सार्वजनिक भएपछि कार्यवाहक सभापति खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

ADVERTISEMENT

कार्यसम्पादन समिति बैठकअघि खड्काले संस्थापन पक्षका नेताहरूसँग आन्तरिक छलफलसमेत गरेका थिए। कांग्रेसभित्र विशेष र नियमित महाधिवेशन भन्ने दोधारको अवस्था सिर्जना भएको छ।