काठमाडौं । पाँच लाखभन्दा बढीले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् । कांग्रेस सभापति गगन थापाले सदस्यता अद्यावधिक गर्नेको संख्या पाँच लाखभन्दा बढी भएको बताएका हुन् ।

मंगलबार गोरखामा आयोजित कार्यक्रममा थापाले अझै अद्यावधिक गर्ने समय दुई दिन बाँकी रहेको भन्दै यो संख्या बढ्ने बताए । उनले क्रियाशील सदस्यता अद्यावधिक गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

ADVERTISEMENT

सभापति थापाले मौका खोजेर जानीलाई नरोक्ने बताए । अहिले पार्टी थोरै कमजोर भएको उल्लेख गर्दै मौका खोज्दै कोही दौडन्छ भने दौडन दिन आग्रह गरे । साथै त्यस्ता व्यक्तिलाई धेरै फकाउनेतिर पनि नलाग्न सुझाव दिए ।

‘पार्टीको कोही साथीहरू हुनुहुन्छ अहिले यो बेलामा हामी छोडेर जान्छौँ, अर्कोतिर जान्छौँ, त्यहाँ गएर वडाध्यक्ष पाउँछौँ, त्यहाँ गएर पालिकाको अध्यक्ष पाउँछौँ, अब सकियो, हामी त्यहाँ गएर जित्छौँ’ भन्छन् भने जान दिनुस्। त्यो धेरै चिन्ता नगर्नुस्। पार्टीलाई ठीक बनाऊँ, पार्टीलाई सफा बनाऊँ, पार्टीभित्रको फोहोर सफा गरौँ, पार्टीको विचार दृष्टिकोण ठीक बनाऊँ, हिजो गठबन्धनको राजनीतिले ध्वस्त बनाएको छ, त्यसलाई समालौँ,’ उनले भने ।

ADVERTISEMENT

उनले थपे, ‘सत्ता सत्ता भनेको ठाउँबाट जनता जनता भन्ने ठाउँमा पुर्‍याऔँ, यो सबै ठीक बनाऊँ, आफैँ सबै ठीक भएर आउँछ। अब अँध्यारो कोठामा दुई जना चारजना नेता बसेर कुनै निर्णय हुँदैन। कांग्रेस पार्टीलाई खोपीबाट बाहिर लिएर आउनु पर्‍यो अब, जनताको बिचमा लिएर जानु पर्‍यो।’

कांग्रेस महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ जना सदस्यमध्ये अहिलेसम्म चार लाख २३ हजार २३७ जनाले सदस्यता प्राप्त गरिसकेको बताए ।

१ लाख १ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा रहेको छ भने अब दुई लाख ५७ हजार ६६३ जना साथीहरूले विवरण अद्यावधिक गर्न बाँकी रहेको उनको भनाइ छ ।