काठमाडौं । नेपाली कांग्रेस थप ७० पूर्वसांसदको हस्ताक्षरसहित पूरक रिट निवेदन लिएर सर्वोच्च अदालत जाने भएको छ । प्रतिनिधिसभा पुनः स्थापनाको मागसहित कांग्रेस अदालत गइसकेकाे छ ।

कांग्रेसका पूर्वप्रमुख सचेतक श्याम घिमिरेसहित आठ सांसदको रिटमाथि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो । यसअघि एमालेले संस्थागत निर्णयबाटै ७५ सांसदको हस्ताक्षरसहित रिट निवेदन दिइसकेको छ । कांग्रेस र एमालेका १४५ र लोसपाका चार गरी तत्काल १४९ पूर्वसांसदको हस्ताक्षर बुझाउने तयारी छ ।

जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका समेत सांसदहरुको हस्ताक्षर जुटाएर पूरक निवेदन दिने तयारी भइरहेको छ ।

विघटित प्रतिनिधिसभाका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद पुनस्स्थापनापछि सरकार गठन हुने र आवश्यक कानून तथा संविधान संशोधन गर्ने सामथ्र्य राख्छ भन्ने पुष्टि गर्न १३८ भन्दा बढी सांसद अदालतमा पूरक निवेदन लिएर जान लागेको बताए ।

कांग्रेसमा संस्थापन र इतर समूहबीच संसद् पुनःस्थापनाको विषयमा विवाद छ । सभापति शेरबहादुर देउवा पक्ष पुनःस्थापनाको पक्ष र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विपक्षमा छन् ।