काठमाडौं । नेपाल राष्ट्र बैंकले हालैका दिनमा बैंक तथा वित्तीय संस्था लक्षित विभिन्न घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । बैंकिङ सेवाको पहुँच देशका सबै स्थानीय तहसम्म विस्तार भइसकेको उल्लेख गर्दै राष्ट्र बैंकले यसबाट सर्वसाधारणले निक्षेप, कर्जा, विप्रेषण तथा सामाजिक सुरक्षा भत्ताजस्ता सेवा सहज रूपमा स्थानीय स्तरमै प्राप्त गरिरहेको जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा राष्ट्र बैंकका निर्देशनअनुसार कर्जा प्रवाह, प्रवाहित कर्जाको अनुगमन तथा कर्जा असुली गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख दायित्व भएको राष्ट्र बैंकले स्पष्ट पारेको छ । निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गरिने भएकाले कर्जा फिर्ता नभएमा निक्षेप फिर्तामा समस्या आउन सक्ने र तरलतामा असर पर्ने हुँदा ऋणीले समयमै कर्जा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

ADVERTISEMENT

यद्यपि, प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा समस्या परेमा त्यसको समाधानका लागि राष्ट्र बैंकले समय–समयमा कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गर्दै आएको पनि जनाएको छ । बैंकिङ कारोबारसम्बन्धी कुनै गुनासो भएमा सम्बन्धित बैंक तथा नेपाल राष्ट्र बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेको उल्लेख गर्दै ग्राहकलाई मर्का परेको अवस्थामा गुनासो दर्ता गरी समाधान खोज्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था तथा तिनमा कार्यरत कर्मचारीविरुद्ध गैरव्यावसायिक र उच्छृंखल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ भई वित्तीय सेवा प्रभावित हुने राष्ट्र बैंकको चेताबनी छ ।

ADVERTISEMENT

साथै, बैंक तथा वित्तीय संस्था तथा कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्दै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको मनोबल उच्च राखी कार्य गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।